दफा
परिचयपत्र प्रदान गर्ने
(१) दफा ७ बमोजिम प्राप्त निवेदन तथा दफा ८ बमोजिम परिचयपत्र उपलब्ध गराउनको लागि सिफारिस भएका व्यक्तिको निवेदन सहितको विवरण अभिलेख राख्ने तथा प्रशोधन गर्ने प्रयोजनका लागि स्थानीय अधिकारीले विभागमा पठाउनु पर्नेछ।

(२) उपदफा (१) बमोजिम प्राप्त विवरणको अभिलेख कायम गरी महानिर्देशकले जैविक विवरण, विद्युतीय चिप्स र सुरक्षण सहितको स्मार्टकार्ड प्रविधिमा आधारित राष्ट्रिय परिचयपत्र जारी गर्नेछ। (३) परिचयपत्रको दृश्य भागमा सम्बन्धित व्यक्तिको देहायका विवरण देखिने गरी उल्लेख गरिनेछः- (क) नाम, थर, (ख) जन्ममिति, (ग) लिङ्ग, (घ) राष्ट्रियता, (ङ) परिचय नम्बर, (च) फोटो, (छ) परिचयपत्र जारी मिति र जारी गर्ने अधिकारी, (ज) स्थायी ठेगाना, (झ) नागरिकताको किसिम र नागरिकता नम्बर (नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्तिको हकमा) ।

(४) परिचयपत्र प्राप्त गर्न निवेदन दिने नेपाली नागरिकता प्राप्त व्यक्तिलाई नागरिकताको आधारमा र नागरिकता प्राप्त नगरेको तर नेपाली नागरिकता प्राप्त गर्न योग्य व्यक्तिलाई तोकिए बमोजिमका प्रमाणको आधारमा परिचयपत्र प्रदान गरिनेछ ।

(५) नाबालक राष्ट्रिय परिचयपत्रको लागि संलग्न गर्नु पर्ने विवरण, परिचयपत्रको ढाँचा लगायतका अन्य प्रक्रिया तोकिए बमोजिम हुनेछ।